प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताएका हुन् ।


उनले सरकार कानूनको राजको पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले प्रचण्डले श्रीलंका र बंगलादेशबाट केही कुराहरु सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए ।

उनले भने, ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? लुटपाट गरेको छु र ? जसले चर्को स्वरमा सिक सिक भनिरहेको छ राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन ।’

राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए । प्रधानमन्त्री ओलीले सबै जाति, भाषाका जनतालाई एउटा सूत्रमा बाध्ने भनेको राजनीति नै भएको स्पष्ट पारे ।