परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता



काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

बुधबार नयाँ दिल्लीको शेराटन होटलमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा चौथाइवालेले परराष्ट्र मन्त्री नियुक्त भएकोमा मन्त्री राणालाई बधाइ दिएका थिए।


साथै नेपाल–भारत सम्बन्धको नयाँ आयाम र अवसरहरूबारे छलफल भएको चौथाइवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसअघि मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

मन्त्री राणा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।