काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका ५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी फुटेको पाइएको छ ।
थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ । शुक्रबार करिब दिउँसो जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको थियो ।
थामे खोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख थियो । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ ।
‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हेलिकोप्टरबाट खिचिएको फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखाइएको छ ।
थामेमा आएको बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । यसका सथै बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ ।