झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।
सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए । ‘अहिले बर्खाको समयमा किसानहरूले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’
मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।
उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उनले रु १२ लाख आम्दानी गरेका छन् ।
किसानहरूले सुपारीका बिरुवा प्रतिगोटा रु एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।
‘सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरूलाई बेच्दै आएको छु’, उनले भने, ‘मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।’ भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरू होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउँछन् ।
‘सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन’, उनले भने, ‘किसान साथीहरू होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।’ सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे ।
सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए । केही वर्षयता धान र चियाखेती मासेर किसानहरूले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ ।