थारू समुदायले मनाए गुरही पर्व



काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही/गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए ।

थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दु थारूले गुरहीलगायत धेरै महत्वपूर्ण चाडबाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताए । कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारूलगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौँमा मनाउन पाएकामा खुसी व्यक्त गरे । त्यस अवसरमा विभिन्न थारू कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए । 


प्रज्ञा प्रतिष्ठानमा कपडाका गुरही (गुडिया) बालिकाले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा) ले गुरही ठटाएका थिए । कार्यक्रमका अवसरमा काभा भलिबल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएकी सरस्वती चौधरी, भूटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनशिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो । 

थारू बाहुल्यता रहेका तराईका जिल्लाहरुमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ । खेतीपातीमा कुनै किसिमको हानि–नोक्सानी नहोस्, गाउँमा रोगविरोग नफैलियोस् भनेर किसानहरु हरेक वर्षको साउनको अन्तिम वा भदौको सुरुआतमा गुरही÷गुरिया पर्व मनाउने चलन छ ।