डा. राणा नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै अख्तियारमा उजुरी



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । आज (बिहीबार) सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।

डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा भनेका छन् । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन् ।


परराष्ट्रमन्त्री डा. राणामाथि अख्तियारले उचित छानविन नगरे अदालत जाने उनको चेतावनी छ । ‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हँुदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु,’– उजुरीमा भनिएको छ ।

परराष्ट्र मन्त्री डा.आरजु राणा विरुद्ध उजुरीको विस्तृत विवरणः

डा. आरजु राणा देउवा नेपाली काँग्रेसको केन्द्रीय सदस्य साथै हाल परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहेकी छिन् । पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा पत्नी रहेकी आरजु राणा देउवा माथि विभिन्न भ्रष्टाचारका आरोपहरु लागेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम मुछिएको कुरा आम नागरिक र सिंगो राष्ट्रलाई थाहै भएको विषय हो । त्यस्को प्रमाण नक्कली शरणार्थी प्रकरणका एक जना आरोपित सन्देश शर्माले आफूले आरजु राणालाई रकम बुझाएको भन्ने अडियो रेकर्ड फेला परेको र सो रेकर्ड परिक्षण गर्दा रेकर्ड सन्देश शर्माको आवाजसँग मिलेको प्रमाणित भएको थियो । अत नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम बुझ्ने आरजु राणा पनि अनुसन्धानको दायरामा आउन आवश्यक छ । भर्खरै पक्राउ परेका बेचन झाले समेत आरजु राणाको पोल खोलिन्छ भनेर पोलिग्राफ गर्न नमानेको तथ्य समेत दुनियाँलाई थाहै भएको कुरा हो । अत आरजु राणा देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नहुनु दुखद कुरा हो । अत तत्काल निज आरजु राणालाई पक्राउ गरी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ध्यानाकर्षण गराउन चाहन्छु । निज मन्त्री भएको बेलामा निज उपर कुनै अनुसन्धान हुन नसक्ने एवम् कारबाहीको दायरमा आउन नसक्ने हुँदा तत्काल निजले पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न पर्ने देखिन्छ । अत नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले आरजु राणा देउवालाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानुन सम्मत र न्यायसम्मत देखिदैन अत तत्काल अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।

साथै आरजु राणा देउवा टिकापुरको जग्गा घोटाला प्रकरणमा समेत मुछिएकी व्यक्ति हुन् । टिकापुर बजार क्षेत्रको करिब ६०० कठ्ठा सरकारी जग्गा नक्कली कागजात बनाई नेता ,कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याको फेला परेको थियो । जहाँ आरजु राणाले समेत मिति २०५४ वैशाख १५ गतेका दिन टिकापुर नगर समितिबाट ३ कठ्ठा ७ धुर जग्गा घडेरी लिएको कागजात लिएको देखिन्छ । रु ५० हजार रुपैयाँमा घडेरी किनेको हो भनी स्वंयम आरजु राणाले स्विकार समेत गरी सकेको अबस्था छ । सोही घटना र प्रकरणमा जोडिएका दर्जनौँ व्यक्तिहरुलाई मुद्धा चलाई जेल समेत हाल्दा सोही प्रकरणमा मुछिएकी आरजु राणा देउवालाई के कति कारण अख्तियारले उन्मुक्ति दिएको हो ? त्यो समेत अख्तियारले प्रष्ट पार्न सकेको छैन । अख्तियार आफैँ पक्षपातपुर्ण तरिकाले भिभिआइपी आरोपितहरुलाई जोगाउने अभियानमा लागेकोले अख्तियार प्रति जनविश्वास समेत घटेको देखिन्छ ।

निश्कर्षमा भन्नुपर्दा पर राष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हँुदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु ।