कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त हुँदै



कर्णाली । स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ आयोजना गर्ने भएको छ ।

समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेको जनाइएको छ । प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य छन् ।


प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कूल ५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

समारोहमा विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत समारोहमा सहभागी हुने जनाइएको छ ।