एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी महासेठलाई



काठमाडौं । नेकपा (एमाले) को विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई तोकिएको छ । आज (बिहीबार) बसेको एमाले सचिवालय बैठकले उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।

त्यस्तै, बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई तोकेको छ । उक्त विभागमा यसअघि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी मन्त्री भएसँगै भट्टराईलाई सो विभागको जिम्मेवारी दिइएको हो ।


त्यस्तै, एसचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेको छ । केन्द्रीय सदस्यमा मनोतित हुनेमा मुख्य सचेतक महेश बर्तौला, सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगु रहेका छन् ।

बैठकले सातै प्रदेशमा इन्चार्ज पनि तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ । त्यस्तै, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।