हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे



काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल थालेको बताएका छन्।

प्रतिनिसभाको आजको बैठकमा सांसद् सोविता गौतमले राखेको ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वास समेतमा असर परेको हुँदा तत्काल सुधारगरी विश्वसनियता बढाउन आवश्यक भएकाे भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्तावमाथिको छलफलका उठेका प्रश्नको जवाफमा मन्त्री पाण्डेले हवाई सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।


उनले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र कामकाजी निकायका रुपमा छुट्याउनका लागि सांसदका तर्फबाट प्राप्त भएको सैद्धान्तिक सहयोगप्रति धन्यवाद दिए।

प्राधिकरणलाई विभाजन गर्ने सम्बन्धी दुई वटा विधेयकलाई समयानुकूल रुपमा मस्यौदा गर्न आवश्यक पहल तथा प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए।

नागरिक उड्डयनसँग सम्बन्धित अन्य कानुन निर्माणका लागि पहल थालीसकेको र त्यसमा जोडिएर आउने बीमालगायत विषयलाई समेत सम्बोधन गरिने बताए।

हवाई दुर्घटनाका सम्बन्धमा छानबिनका लागि स्थायी संयन्त्र स्थापनाका लागि सरकारका तर्फबाट आवश्यक तदारुकता देखाइएको र त्यसका लागि कानुनी प्रबन्ध समेत हुने मन्त्री पाण्डेले सदनलाई जानकारी गराए।

विगतमा हवाई दुर्घटना छानबिनका लागि गठित समितिले दिएका सुझाव र प्रतिवेदनमाथि थप अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न लागिएको उनको भनाइ छ । यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल एवं पोखरा क्षेत्रीय विमानस्थलको सहज सञ्चालनका लागि सरकारले आवश्यक कार्ययोजना आगडि बढाइएको उल्लेख गरे । उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदयशम्सेर जवरा, हितबहादुर तामाङ, अब्दुल खान, सञ्जयकुमार गौतम, राजेन्द्र बजगाईं, अनिसा नेपाली, मैना कार्की, सुदन किराँती, विरेन्द्रप्रसाद महतोलगायतका सांसदले भाग लिएका थिए । यस्तै, बैठकले संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनप्रति श्रद्धाञ्जलि अर्पण शोक प्रस्ताव पारित गरेको छ । मधेशी जनअधिकार फोरम, नेपालका तर्फबाट अग्रवाल २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी, नेपालमा आवद्ध अग्रवालको गत साउन २१ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।