स्पेनी प्रधानमन्त्री सान्चेजले सेप्टेम्बरमा चीन भ्रमण गर्ने



म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने भएका छन् ।

बेइजिङ र युरोपेली सङ्घबीच विद्युतीय सवारी साधनका लागि चिनियाँ अनुदानको विषयमा व्यापार गतिरोध जारी रहेका समय प्रधानमन्त्री साञ्चेजको भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो ।


स्पेनी प्रधानमन्त्रीकोे कार्यालयले सेप्टेम्बर ७ देखि १२ सम्म हुने भ्रमणको विस्तृत विवरण उपलब्ध नगराए पनि भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ को मार्चमा आफ्नो अन्तिम चीन भ्रमणका क्रममा स्पेनी प्रधानमन्त्री साञ्चेजले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका थिए ।

सीले युक्रेनका लागि चीनको शान्ति प्रस्तावलाई समर्थन जुटाउने प्रयास गरिरहेका बेला र युरोजोनको चौथो ठूलो अर्थतन्त्र स्पेनले सन् २०२३ को उत्तराद्र्धमा युरोपेली सङ्घको आलोपालो अध्यक्षता सम्हाल्ने तयारी गरिरहेका बेला यो भ्रमण हुन लागेको हो ।

सान्चेजको आसन्न चीन भ्रमण युरोपेली आयोगले गत हप्ता चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा ३६ प्रतिशतसम्म पाँच वर्षका लागि आयात शुल्क लगाउने घोषणा गरेपछि हुन लागेको हो ।

बदलामा बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको छ । उक्त अनुसन्धानमा ताजा चीज र दही, केही दूध र क्रिमलगायत विभिन्न वस्तुहरू समावेश हुनेछन्।