स्थायी समिति बैठक : आजदेखि वैचारिक, राजनीतिक, साङ्गठिनक परिस्थति र कार्यभारबारे छलफल हुँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्नेछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा आजदेखि वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा छलफल सुरु हुदैछ ।


पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिबारे जानकारी गराएका थिए । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेका छन् ।

बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएको जनाइएको छ ।