कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आएको छ । यही पेसाबाट उनको जीविकोपार्जन हुँदै आएको छ ।
डडेल्धुराको खलङ्गाबाट ५५ वर्षअघि जैरु तराई झरेका हुन् । अहिले ६९ वर्ष पुगेका उनले भने, “पहाडमा जीविकोपार्जनमा समस्या हुन थालेपछि रोजगारीको खोजीमा तराई झरेको हो ।” तराई झरेको केही वर्षसम्म सङ्घर्षपूर्ण जीवन बितेको उनले सुनाए ।
“पहाडमा हुँदा अलिअलि सिलाइकटाइ सिकेको थिएँ । तराई झरेपछि अरूको पसलमा मेसिन चलाउँदै गरेको, कपडा काट्दै गरेको कार्य हेरिरहन्थेँ । त्यसबेला म १५ वर्षको थिएँ”, जैरुले भने, “हेर्दाहेर्दै मेसिन चलाउन, कपडा काटन सिकेँ । कपडा सिलाइ गर्ने पसलमा काम पाएपछि मेसिनमा कपडा सिलाउन थालेँ, बिस्तारै सिकेको सीपले अहिले सक्षम बनाएको छ ।”
सीप निखार्न भारत भारतको बरेली पुगेको अनुभव जैरुले सुनाए । “बीस÷बाइसको कलिलो उमेर थियो, बरेलीमा ‘टेलरिङ’ गर्ने पसलमा बसेर एक वर्ष काम गरेँ । काम गर्दै जाँदा सीप पनि सिकिँदो रहेछ”, उनले भने, “पाइन्ट र सर्ट बनाउनमा निपूर्ण भएपछि आत्मविश्वास पनि बढ्दै गायो ।” उनले त्यतिले व्यावसायिक सिलाइकटाइ गर्न नपुग्ने ठानेर कोटपाइन्ट, सुट बनाउने सीप सिक्न विसं २०३४ मा भारतको लखनऊ पुगेको स्मरण गरे ।
दुई वर्ष लखनऊमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्षता हासिल गरेपछि स्वदेश फर्किएको बताए । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडि बसेर सिलाइकटाइ गरेको सुनाउँदै उनले विसं २०३७ देखि झलारी बजारमा सिलाइकटाइ पसल राखेर काम थालेको उल्लेख गरे ।
हालसम्म यही पेसालाई निरन्तरता दिएको बताउँदै जैरुले अहिले झलारी बजार क्षेत्रमा कोटपाइन्ट, सर्टमा सबैभन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा परिचति भएकामा खुसी लाग्ने गरेको सुनाए । “पहिला बजार क्षेत्रमा सिलाइकटाइ गर्ने प्रतिस्पर्धी थोरै हुँदा आम्दानी प्रशस्त थियो”, उनले भने, “महिनाको रु ५०÷६० हजार माथि कमाई हुन्थ्यो, अहिले बजार बढ्दै गएको छ, उमेरले पनि पहिलाको जस्तो साथ दिँदैन ।” अहिले मासिक ३० हजारसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।
जैरुले चार बहिनी, पाँच भाइको विवाहका साथै दुई छोराको सबै खर्च सिलाइकटाइबाट भएको आम्दानीले गराए भने झलारी बजारमा घर र घरेडी जोडे्का छन् । सीप सिकेर आत्मनिर्भर भई व्यावसायिक रुपमा काम थालेपछि पैसाको कहिल्यै समस्या नपरेको अनुभव उनीसँग छ । सीप सिकेर लगनशील भई कार्य गरे आत्मनिर्भर भइने उनको बुझाइ छ ।