साहित्यकार रमेश विकलका ‘समग्र कथा, उपन्यास र नाटक खण्ड’ लोकार्पण



काठमाडौँ । नेपाली आख्यान क्षेत्रका शीर्ष साधक रमेश विकलका समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण गरिएको छ । आज यहाँ गोकर्णेश्वरमा रमेश विकल साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै कथा, उपन्यास र नाटकको छुट्टाछुट्टै सङ्ग्रह सार्वजनिक गरेको हो । 

सार्वजनिक सङ्ग्रहले छरिएका कृतिलाई एकत्रित गरेको प्रतिष्ठानका महासचिव विजय चालिसेले बताए ।


“धेरै सहयोगी हात र गोकर्णेश्वर नगरपालिकाको सहयोगले सङ्ग्रह निकाल्न सकेका हौँ । साहित्यकार विकलले विसं २०१६ देखि विभिन्न कालखण्डमा लेख्नुभएका कथा, उपन्यास र नाटकलाई एकै ग्रन्थ बनाउन धेरै मेहनत गरेका छौँ । केही छुटेका र अन्य रचनालाई पनि क्रमबद्ध रूपमा समट्ने छौँ । अब साहित्यकार विकलका सिर्जनालाई एउटै ग्रन्थमा पढ्न पाइनेछ”, उनले भने । महासचिव चालिसेले नगरपालिकाले साहित्यका विधामा यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने गरेकामा धन्यवाद दिए ।

नगरपालिका प्रमुख दीपककुमार रिसालले एक संस्थामा साहित्यकार विकल अध्यक्ष हुँदा आफू सचिव भएर सहकार्य गरेको स्मरण गर्दै नगरपालिकाले उनको कृतिलाई सङ्ग्रहित गर्न पाउनु गौरवको विषय रहेको बताए ।

“साहित्य क्षेत्रलाई संरक्षण गर्नु जनप्रतिनिधिको कर्तव्य नै हो । उहाँहरूलाई प्रोत्साहन गर्न हामीले नगरभित्रका एक र नगरबाहिर जुनसुकै स्थानको एक साहित्यकारलाई सम्मान गर्ने गरेका छौँ । साहित्यकारलाई यस नगरमा अपनत्व महसुस होस् भनेर प्रकाशनमा सहयोग गरेर साहित्यलाई जीवन्त बनाउने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ”, उनले भने । नगर प्रमुख रिसालले नगरभित्र रहेका साहित्यकर्मीले रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरिरहेको जानकारी गराए ।

सङ्ग्रहित ग्रन्थका सम्पादक ठाकुर शर्मा भण्डारीले साहित्यकार विकलको सिर्जनाको महत्व र त्यसको दूरदर्शिताको विषयमा चर्चा गरे । कार्यक्रममा रचनाका विषयमा साहित्यकार शार्दूल भट्टराई, गोपी मैनालीलगायतले समेत धारणा राखेका थिए । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, नगरउपप्रमुख सान्नानी लामा, वडा नं ८ का अध्यक्ष राजीव थापालगायत विभिन्न साहित्यकर्मीको उपस्थिति रहेको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको निधन विसं २०६५ पुस २ गते भएको थियो ।