साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने



काठमाडाैँ । दक्षिण एसियाली फुटबल महाससंघ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअनतर्गत  नेपाल र श्रीलंकाबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रंगशालामा हुने सम्भावना कम भएको छ । 


अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रंगशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए । उनले  यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए । उक्त रंगशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडौं आइपुगेका थिए ।  

उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रंगशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर वर्षाका कारण दशरथ रङगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुंगो लाग्न सकेको थिएन । एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रंगशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए । 

यही साउन २९ गते दशरथ रंगशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो । त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो । जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए । यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो ।

साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ । भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् ।