साफ च्यापियनसिप फुटबल : भुटानले माल्दिभ्सलाई हरायो



काठमाडौँ । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो । भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एक/एक गोल गरे ।


यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए । खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।

गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो । त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो ।

भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्तत भुटानको जीत पक्का भयो । उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ ।