सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने



काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेसँग बयान लिँदैछ ।

समितिले अहिले बिहान ११ बजे बस्ने बैठकमा लामिछानेलाई बयानका लागि बोलाएका हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको पनि समितिले आजै बयान लिने तयारी रहेको छ ।


राजनीतिमा लाग्नु अघि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।