सत्रौँ भानु कप : लिभिक र च्याङ्ली फाइनलमा प्रवेश



तनहुँ । तनहुँको भानु नगरपालिका-१ भन्सारमा जारी भानु कपको सत्रौँ संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् ।

भन्सार युवा क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा भानुको फ्रेन्डशिप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा लिभिक १–० ले विजयी भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक राजेश कार्कीले जानकारी दिए ।


त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेताले रु दुई लाख ५० हजार दुई सय ११ नगद र उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई रु २५ हजार दुई सय ११ प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११ र सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिनेछ ।