श्रीलङ्कामा दल त्याग गरेका दुई मन्त्री बर्खास्त



सर्वोच्च अदालतले अनुशासनात्मक कारवाहीलाई समर्थन गरेपछि शुक्रबार श्रीलङ्काका दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । आगामी महिना हुने राष्ट्रपति निर्वाचनअघि यस्तो निर्णय आएको हो ।

सन् २०२२ मा अभूतपूर्व आर्थिक सङ्कटसँगै महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई अपदस्थ गरेपछि मुलुकमा पहिलो राष्ट्रपति निर्वाचन हुन लागेको हो । पर्यटनमन्त्री हरिन फर्नान्डो र श्रममन्त्री मानुषा नानायक्काराले सेप्टेम्बर २१ को मतदानका लागि तयारी गरिरहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई समर्थन गर्न दल परिवर्तन गरेका थिए ।


उनीहरूको पूर्व पार्टी सामगी जन बालावेगया (एसजेबी) ले उहाँहरूको सदस्यता निलम्बन गरेको थियो र त्यसलाई अदालतले शुक्रबार समर्थन गर्यो । राष्ट्रपति विक्रमासिङ्घेलाई झट्का लाग्ने गरी दुवै जनाले संसद् र मन्त्रिपरिषद् छाड्नुपर्ने भएको छ । सर्वोच्चको फैसलापछि फर्नान्डोले पत्रकारहरूसँग भने, “म अदालतको फैसलालाई स्वीकार गर्छु, जनताका लागि काम गर्ने अवसर पाएकामा म खुशी छु ।” नानायक्काराले पनि सरकारमा सामेल भएकामा आफूलाई कुनै पछुतो नभएको बताए ।

आवश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि सन् २०२२ अप्रिलमा श्रीलङ्काले ४६ अर्ब डलरको ऋण तिर्न सकेन । विक्रमासिङ्घेले उच्च कर र ऊर्जा अनुदानमा कटौतीलगायत मितव्ययिताका उपायहरू समावेश गर्दै आफ्ना सुधारहरू जारी राख्न अर्को कार्यकाल चाहेको बताएका छन् ।

अग्रपङ्क्तिका अन्य दुई उम्मेदवार साजिथ प्रेमदासा र अनुरा कुमारा दिसानायकेले गत वर्ष विक्रमासिङ्घेले गर्नुभएको दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउट वार्तालाई जारी राख्ने तर करहरू घटाउने र निजीकरणलाई रोक्ने बताउनुभएको छ ।