शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको  छ : प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको इतिहासमा आजको दिन दुरगामी महत्वको ऐतिहासिक दिन भएको बताएका  छन्।  बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउन सकिनेमा विश्वास व्यक्त  गरे।  उनले टीआरसी विधेयक सहमतिपछि हजारौं सहिदहरूका सपना पूरा हुने बताए। 

‘शान्ति प्रक्रियाको अभिन्न अंगको रुपमा संक्रमणकालीन न्याय सम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगको विधेयक आज सदनले अनुमोदन  गरेको छ। यो  सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ। हजारौं सहिदहरूका सपना पूरा हुने विश्वास पनि पैदा भएको छ। शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छ,’उनले भने,’ अब हामीलाई परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समृद्धिको महान यात्रामा अगाडि बढ्ने बाटो हामीले प्राप्त गरेका  छौं।’


उनले सबैको साझा प्रयासबाट मात्रै विधेयक पारित हुने अवस्था सृजना भएको बताए। उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका हौं। यो विधेयक पारित हुँदै गर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झन्छु। मैले ०६२ सालमा सात दलीय गठबन्धन  र उहाँ मेरो साझेदारको रुपमा हुनुहुन्थ्यो।’

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंगिने क्रममा भएपनि कार्यान्वयनको चुनौती भने कायम रहेको बताए।  प्रचण्डले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गरे। जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उनको भनाइ छ । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा देखिएका विवादमा सहमति खोज्न शीर्ष तीन दलले राजनीतिक कार्यदल गठन गरेका थिए। कार्यदलले विभिन्न चार विषयमा सहमति जुटाउँदै प्रतिवेदन तयार पारेको हो। 

मंगलबारको बैठकमा कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन,२०८१ पेस गरेकी थिइन्। 

छलफल सकेर आजै बैठकबाट पारित गर्ने तयारी  छ। प्रतिनिधिसभा बैठकबाट पारित विधेयक राष्ट्रियसभामा पठाइन्छ। ‍राष्ट्रियसभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै विधेयकले कानुनको रुप लिनेछ।