विराटनगरका लागि उडेको मुख्यमन्त्री कार्की सवार जहाज चन्द्रगढीमा आकस्मिक अवतरण



झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए ।


दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए । मुख्यमन्त्रीसहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा बिमानभित्रै बसेका थिए । बिमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि बिराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।