विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न उद्योगमन्त्रीको आग्रह



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे । 


‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ’, उनले भने । मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए ।

उनले नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने बताए ।

सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए ।