वन्यजन्तु आतङ्कले बाली जोगाउनै मुस्किल



काभ्रेपलाञ्चोक । वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि यहाँको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन् ।

वन्यजन्तुबाट अन्नबालीमा मात्र नभइ मानिसलाईसमेत खतरा भएपछि उनीहरु वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन् । वडाध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताए । “विशेषगरी साँझ–बिहान स्यालको आतङ्कले एक्लै हिँड्नै गाह्रो हुँदै गएको छ”, उनले भने । उनका अनुसार बाँदर, स्याल, दुम्सी र बँदेलको समस्या धेरै देखिएको छ ।


कोशी पूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकामा मकैबालीमा बाँदरको आतङ्क धेरै छ । स्यालको सङ्ख्या पछिल्लो समय वृद्धि भएकाले समस्या समाधान गर्न नसकिएको तामाङले बताए । उनले यस विषयमा गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने आश्वासन प्राप्त गरेको जानकारी दिए ।

केही वर्षअघिसम्म प्लास्टिकको बन्दुक पड्काएर बाँदरलगायत वन्यजन्तु भगाउने गरिएकामा हाल सोही खालका बन्दुक पड्काउँदा पनि बाँदर अटेर गर्ने गरेको स्थानीय रमेश खरेलले बताए । तत्काल वन्यजन्तु समस्याको समाधान खोज्नुपर्ने उनी बताउँछन् । हाल भुम्लु गाउँपालिकाको १, २, ३, ४, ९ र १० वडाका खेतबारीमा बँदेल पसेर अन्नबालीमा क्षति पु(याइरहेको स्थानीयवासीको भनाइ छ ।

गत चैतमा काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–५ सुब्बा गाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु(याएपछि स्थानीयले राति खेतमै बास बसेर कुरेको स्थानीय बुद्धिबहादुर थापाले बताए । मल र बीउको अभावमा रोपिएको आलु क्षति हुँदा यहाँका किसान मारमा छन् ।

गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा बाँदरले स्थानीयलाई दुःख दिएको थियो । विसं २०८० असारमा मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा चितुवाले योग गङ्गा वाइल्ड एण्ड च्याटल फार्मका तीन सय ५० कालिज मारेको थियो । सोही समयमा नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरी आलोपालो कुरुवासमेत बस्ने गरेका छन् । स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराउँछन् ।

अघिल्लो वर्ष नगरको १२ वडामध्ये ८ र ९ बाहेक सबै वडामा बाँदरले अन्नबालीमा क्षति पु(याएको थियो । त्यसवर्ष नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई बाँदर धपाउने १५ थान यन्त्र उपलब्ध गराएको थियो । पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा पाँच वर्षदेखि बँदेल र बाँदर आतङ्कबाट आजित छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको बताए ।

स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोखेपनि समाधानको उपायबारे सहयोग नपाएको थपलियाको गुनासो छ । बनेपा नपा–३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जङ्गली जनावर बढ्दै गएको बताउँछन् । उनी भन्छन् “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।”

स्थानीय शिक्षक तुलाप्रसाद दाहालले बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेको अनुभव सुनाउँछन् । धुलिखेल नगरपालिका–१ देवीटारकी किसान सरस्वती घोरासैनी दुम्सीको क्षतिबाट हैरान छिन् । “दुम्सीले बारीको काँक्रो र तरकारीका बोटनै सखापै पार्छ, अहिले पनि बालीमा क्षति पु(याउँछ कि भन्ने जोखिम छ”, उनले भनिन् ।

डिभिजन वन कार्यालय धुलिखेलका अधिकृत न्हुच्छे श्रेष्ठले जिल्लाका अधिकांश वनभित्र बँदेलको सङ्ख्या वृद्धि भएकाले किसानसँगद्वन्द्व बढेको बताए । उनले भने, “नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।”

उनका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभएपनि क्षतिपूर्ति दिने काम भइरहेको छ । गएको १४ वर्षमा जिल्लामा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र छ जना घाइते भएका छन् ।