लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएपछि मंगलबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन् ।
सत्तारुढ दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरको छन् । साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अहिले प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसद आवश्यक पर्छ । एमाले र कांग्रेस बहुमत पुग्ने भए पनि सानाले दलले विश्वासको मत दिने भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी सरकारको पक्षमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र राप्रपा भने विपक्षमा छन् । माओवादी ११, एकीकृत समाजवादी र जनमोर्चाका एक–एक सांसद छन् ।