रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष दाहालको आग्रह



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आज खसेको भीषण पहिरोमा परेकाहरुको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छजनाको दुखद निधन, चारजना बेपत्ता र एकजना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


उनले प्राकृतिक प्रकोपका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले उद्धारमा जुटेका पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवाद दिँदै जनसेवामा निरन्तर जुट्न आग्रह गरेका छन् ।