राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताएका छन् । भगवान् राधाकृष्ण रथयात्राको आज अपराह्न शुभारम्भ गर्दै उनले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकामा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिए । उनले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका धर्म, संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण र प्रस्फुटन गराउन सदैव कार्य गर्ने बताए ।


मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राखे । उनले यो रथयात्रा विश्व शान्ति, मानवजातिको हित र प्राणी जगतको रक्षाका लागि भएको चर्चा गर्दै विश्वमा देखापरेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र  मानवजातिको पक्षमा रहेको बताए । उनले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भगवान् राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलब्ध गराउने बताए । रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३औँ संस्करण यो रथयात्रा एसियाको दोस्रो ठूलो भएको जानकारी दिए ।

यात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ड्रोन र सिसी क्यामेरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ भने रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी) लाई पुरुष र महिला भक्तजनले रथलाई तानी सञ्चालन गरिएको थियो । 

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति, सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजनमण्डली रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । 

उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरी करिब सात लाख भक्तजनको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ ।

विसं १९८८ देखि खटयात्रा र २०२७ सालबाट रथयात्रा सुरु गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए । विराटनगरमा निकालिएको  यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान् जगन्नाथपछि दोस्रो ठूलो रहेको आयोजकले जनाएका छन् ।