योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । 

जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्छ भने । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न पनि आग्रह गरे । 


“म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरूको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएक थिए ।