म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण



दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरु पेश गरेका हुन् ।

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।


त्यसैगरी म्याग्दे वडा नम्बर २ को निर्मलबस्तीमा खेल मैदान निर्माणसहित ल्याण्डफिल्ड साइट योजनालाई बजेट विनियोजन गर्न र वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने पक्की पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा (एमाले) म्याग्दे गाउँ कमिटीका सचिव सन्दीप रानाभाटले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मागको बारेमा सम्बन्धित मन्त्रीहरुलाई जानकारी गराई बजेट व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिएको रानाभाटले बताए ।

सो टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग समेत भेट गरी तनहुँ जिल्लाको विकास निर्माणका लागि ध्यान दिन आग्रह गरेको थियो ।