मोरङमा दुई बालिका मृत फेला, आमाले विषादी खुवाएको आशङ्का



विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत फेला परेका छन् । प्रहरीका अनुसार ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको हो ।

उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । प्रहरीका अनुसार मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् ।


दुई बालिकाको शव भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । कार्कीका अनुसार अर्जुन र अस्मिताबिच हिजो साँझ ६ बजेतिर झगडा भएको थियो ।

सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे । श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालयतिर लागेको स्थानीय जानकारी दिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

तर, दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो । उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै भेटिएकी छैनन् । आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले जनाएको छ ।