मैले आजसम्म झुट बोलेको छैन, भ्रष्टाचार गरेको छैन, गर्दिनँ, गर्न दिन्नँः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आजसम्म जानीजानी झुठ नबोलेको दाबी गरेका छन् । आज (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ६ दशकदेखि देश बनाउने अभियानमा रहेको बताए । उनले आफूले अहिलेसम्म आफ्नो हक नलाग्ने, पसिनाको कमाइ बाहेक अरु केही आर्जन नगरेको दाबी गरे ।

आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको, भ्रष्टाचार अब पनि नगर्ने र गर्न पनि नदिने उनले बताए । ‘आफ्नो हक अधिकार नलाग्ने, आफ्नो कमाइबाहेकको, कानुनसम्मत, न्यायसम्मत, उचित, आफ्नो पसिना र कमाइले आर्जन गरेको बाहेक अरु सम्पत्तिमा लुट गरेको छैन । भ्रष्टाचार गरेको छैन, गर्दिनँ, गर्न दिन्नँ भन्ने मेरा कुरा यथावत छ ।’ उनले भने, ‘मैले जानीजानी झुट अहिलेसम्म बोलेको छैन, बोल्दिन । जानीजानी कसैको अधिकार हनन् गरेको छैन, गर्दिन । जानीजानी अहित गरेको छैन, गर्दिनँ । जानीजानी इमोरल काम गरेको छैन, गर्दिनँ ।’


प्रधानमन्त्री ओलीले ३५ क्वीनटल सुन तस्करी गर्नका लागि आफूमाथि पशुपतिमा पित्तल चढाएको आरोप लगाइएको दाबी गरे ।