मुगुको छायानाथका विद्यार्थीलाई यौनिकता शिक्षा



मुगु । मुगुका छ विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीरूलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको छ । राइट हेअर राइट नाओ र सिडिएस–पार्क नामक संस्थासँगको सहकार्यमा छायानाथ रारा नगरपालिकामा छवटा माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो ।

यौनिकतासम्बन्धी शिक्षा नहुँदा शारीरिक, मानसिक र शैक्षिक रूपमा परिपक्व नहँुदै विवाह गर्ने, महिलाको प्रजनन स्वास्थ्य अधिकारबारे थाहा नहुने, छाउपडीजस्ता कुप्रथा मान्ने, शारीरिक रूपमा हुने विकासबाट आत्तिने भएकाले यस्तो शिक्षा विद्यालय तहबाटै दिन प्रत्येक शुक्रबार बृहत् यौनिकता शिक्षा दिन थालिएको सिडिएस–पार्कका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए । ‘हाम्रो देशमा यौन र यौनिकताको सवालमा खुलेर कुरा गर्न अझै समस्या छ, त्यसैले युवालाई यौनसम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चुनौतीपूर्ण छ । त्यसैले विद्यालय तहबाटै यौन र यौनिकताका बारे बुझाएर खुल्ला र निर्धक्क रूपमा कुरा गर्न र समुदायमा बुझाउन सकियोस् भनेर विद्यार्थीलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो’, उनले भने ।


यहाँका महाकाली नमूना मावि, प्रभात मावि रोवा, कर्णाली मावि टोप्ला, नेरा मावि मुर्मा, मावि लुम र मावि बाममा प्रत्येक शुक्रबार सहजकर्ताहरूले बृहत् यौनिकता शिक्षाबारे कक्षा सञ्चालन गर्दै आएका छन् । सहजकर्ता भीमचन्द्र बुढाले विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिने र फुर्सदका समयमा अध्ययन गर्न मिल्ने गरी यौन शिक्षासम्बन्धी पुस्तकको व्यवस्था पनि गरिएको बताए ।

यौनिकता शिक्षा र पुस्तकालयमा उपलब्ध पुस्तकले आफूहरू निर्धक्क रूपमा यौन, यौनिकता र प्रजनन स्वास्थ्यबारे बोल्न अवस्था बन्दै गएको प्रभात मावि रोवामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी नवीन बढुवाल बताउछन् ।

यस्तै, मावि बाममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी शिवलक्ष्मी बुढा भन्छन्, ‘कक्षाकोठा र समुदायमा यौन, यौनिकता, प्रजनन, प्रसूति र छाउसम्बन्धी कुरा सुन्दा लाजले मुख छोप्थ्यौँ तर विद्यालयमा कक्षा सञ्चालन भएपछि यी विषयमा खुलेर कुरा गर्ने, साथीभाइमाझ सोधपुछ गर्नेसम्म भएका छौँ ।’

यौनिकता शिक्षा यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षको अध्ययन हो । यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत् अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउँछ ।