भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारले लागू गरेका आर्थिक सुधारका कारण मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका हुन् ।

उनले सन् २०४७ सम्म ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न सरकारले आर्थिक सुधारका कदम चालिरहेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षयता आफ्नो सरकारले मुलुकको बैंकिङ क्षेत्रको सुधारमा काम गरिरहेको जानकारी दिए ।


उनले पछिल्लो समय भारतको बैंकिङ क्षेत्र विश्वमै मजबुत स्थान रहेको समेत उल्लेख गरे । लघु, साना एवम् मध्यम उद्यमका लागि बैंकिङ क्षेत्र मेरुदण्डको रुपमा स्थापित भएको उनको भनाइ छ । सन् २०२३–२४ मा भारतको समग्र बैंकिङ क्षेत्रको कुल नाफा ३ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री मोदीले ‘भोकल फर लोकल’ र ‘एक जिल्ला एक उत्पादन’ जस्ता कार्यक्रम सफल हुँदै गएको भन्दै साना शहरबाट हुने निर्यात वृद्धि हुने अपेक्षा व्यक्त गरे । उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि भारतले प्रगति गरिरहेको र सन् २०३० सम्म ५ सय गिगावाट नवीकरणीय ऊर्जा जडान हुने उद्देश्य रहेको उल्लेख गरे । सन् २०४७ सम्म भारत ऊर्जा क्षेत्रमा आत्मनिर्भर भइसक्ने उनको भनाइ छ ।