भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै



काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी साता काठमाडौं ओर्लनेगरि कार्यक्रम तय भैसकेको छ । नेपालस्थित् भारतीय दूतावासले विदेशसचिव मिश्रीको भ्रमण तयारी थालिएको पुष्टि गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणादेखि विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतले जनाएअनुसार विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेगरि कार्यक्रम बनाउन सुरु गरिएको छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका हुन् ।


उनीअघि सो जिम्मेवारीमा नेपालका लागि राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका विनयमोहन क्वात्रा थिए । क्वात्रा अमेरिकाको लागि राजदूत नियुक्त भएका छन् । विदेशसचिव मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि दिने बताईएको छ । अहिलेसम्म भारतले आधिकारिक रुपमा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाईल्याण्ड हुने निश्चित् भएको छ ।