भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु



भक्तपुर । भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । आज अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बालिकालाई डा ईवामुरा अस्पताल लगिएको र अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो ।


बालिकाको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ । प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ ।हाल उनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।