बिर्तामोडमा बसको ठक्करले महिलाको मृत्यु



झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।