बन्दीपुरमा तीज सप्ताहव्यापी उत्सव गरिँदै



डुम्रे (तनहुँ) । जिल्लको बन्दीपुरमा यही भदौ १५ देखि २२ गतेसम्म सप्ताहव्यापी ‘तीज सप्ताहन्न उत्सव’ गरिँदै छ । पछिल्लो समय तीजमा गाइने गीतमा विकृति समावेश हुँदै आएकाले परम्परागत संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले ‘तीज सप्ताहन्न उत्सव’ आयोजना गर्न लागिएको हो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा तीजका महिमा गाइने गीतमा अनेकन विकृति समावेश हुँदा हाम्रा परम्परागत गीत लोप हुनसक्ने भएकाले बृहत् रुपमा प्रतियोगिता गरी संस्कृति तथा तीजको महिमाको संरक्षण गर्न सप्ताहन्न उत्सव गर्न लागिएको कार्यक्रम संयोजक किरण पोख्रेलले जानकारी दिए ।


“नेपाली नारीहरुको महान् पर्व तीजका अवसरमा गाइने तीज गीतमा विकृति समावेश हुँदै आएको छ । हाम्रा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले बन्दीपुरमा यही भदौ १५ देखि २२ गतेसम्म महोत्सव गर्न लागेका हौँ”, उनले भने ।

पोख्रेलका अनुसार हरेक दिन बन्दीपुर क्षेत्रका विभिन्न जातजातिका सांस्कृतिक झाँकी, आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छभने प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ । उनले भने, “भविष्यका लागि हाम्रा संस्कार, संस्कृति, परम्परालाई संरक्षण गर्नुपर्छ । तीज गीतमा आएको विकृतिलाई निरुत्साहित गर्न यस्तो कार्यक्रमसहितको प्रतियोगिता गर्न लागिएको हो ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यहाँ सबै किसिमका पर्यटक आउने भएकाले पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास लिए । उनले धार्मिक एवं पर्यटकीय तवरबाट पनि कार्यक्रमले बन्दीपुरको प्रचारप्रसार गर्ने उनले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुने समूहलाई २५ हजार प्रदान गरिने सञ्चालक हरिदत्त पौडेलले जानकारी दिए । उनले प्रतियोगिताका लागि तीन देखि १५ जनासम्मको समूह हुनुपर्ने, समूहमा सबै महिला अनिवार्य गरिएको बताए ।

वाद्यवादनको सामग्री आफैँले व्यवस्था गर्नुपर्नेछ भने हरेक समूहलाई बढीमा १५ मिनेटको समय दिइनेछ । प्रतियोगितामा भाग लिन समूह दर्ता शुल्क दुई हजार लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा छनोट, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरण हुनेछन् ।

साथै ‘बृहत् खुल्ला तीज गीत प्रतियोगिता’, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक पोख्रेलले जानकारी दिए । यहाँ रहेका धार्मिक शक्तिपीठ सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवीलगायत देवीको दर्शन गराउने र महिमा एवं शक्तिबारे परिचित गराउने कार्यक्रम रहेको उनले बताए ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटक भित्र्याउने लक्ष्यका साथ बन्दीपुरमा कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रम सात सय वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘माँ खड्गदेवी’ प्राङ्गणमा हुने बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । तीज गीत प्रतियोगितामा कम्तीमा ५० समूहको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए । तीज सप्ताहन्न उत्सवमा चर्चित कलाकारले सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने उद्देश्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियारलगायत स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल चरणमा तीजे दोहोरी हुनेछ । सो अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकका लागि विशेष छुट दिनेसमेत घोषणा गरेको छ ।

बन्दीपुर गाउँपालिकाको संरक्षकत्व र बन्दीपुरमा रहेका सामाजिक सङ्घसंस्था, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइ, रेवान जिल्ला बार एसोसिएसन, बन्दीपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायिक होमस्टे महासङ्घ बन्दिपुर, आर केडी महिला उद्यमशील क्लब र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागिएको हो ।