बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाको कारण देखाउँदै भारतीय सीमामा



विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उनिसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए । 


“सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए ।

पश्चिमबङ्गाल राज्यको भारतीय सिमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए । 

“दुई देशबीचको सिमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सिमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उनले भने । 

सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएको हो । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ । 

बङ्गलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तिमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।