बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उपप्रवक्ता फरहान हकमार्फत् विज्ञप्ति जारी गर्दै महासचिव गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्ने बताएका हुन् ।

महासचिव गुटरेसले निर्वाचनलाई थप समावेशी बनाउन समेत बंगलादेशको अन्तरिम सरकारलाई आह्वान गरेका छन् । उनले निर्वाचन प्रक्रियामा महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व मजबुत हुनुपर्ने उल्लेख गरेका छन् ।


हिंसात्मक आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

अन्तरिम सरकारले सत्ता सम्हाले पनि त्यहाँ हिन्दू धर्मावलम्बीसहित अल्पसङ्ख्यक समुदायविरुद्ध हिंसाका घटना बढिरहेको बताइएको छ ।

यससँगै बंगलादेशमा कहिले चुनाव होला भन्ने चासो बढिरहेका बेला राष्ट्रसंघका महासचिवको यस्तो भनाइ आएको हो ।