फेसबुकबाट चरित्र हत्या गरिएको भन्दै उपप्रमुख डंगोलले गुहारिन् साइबर ब्यूरो



काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका फेक फेशबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न माग गरेकी छिन् । उनले त्यसको लागि साइबर ब्यूरोलाई पत्राचार गरेकी हुन् ।

पछिल्लो समय मेयर बालेन्द्र शाह र उपमेयर डंगोललाई जोडेर अनर्गल भिडिओ बनाई पोष्ट गरेको पाएपछि डंगोलको सचिवालयले कारबाहीको लागि ताकेता गरेको हो । पछिल्लो समय साइबर ब्युरोमा फेक पेज बनाएर व्यक्तिको चरित्र हत्या गरिएका घट्नामा कारबाहीको लागि अत्यधिक उजुरी पर्ने गरेका छन् । 


‘गत जेठ १३ र असार २५ गते केही फेसबुक पेज बन्द गर्न पत्राचार गरिएको थियो । तर अहिले पनि ती फेसबुक पेजहरू प्रयोगमै रहेको पाइयो’, डंगोलको सचिवालयले भनेको छ, ‘एआई प्रविधिबाट फोटो-भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हालेर चरित्रहत्यासम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरियोस् । ती भिडियो, फोटो तथा समाचार हाटाइदिन र त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध छ।’