‘फेरिल’ उपन्यास सार्वजनिक



तनहुँ । सीमान्तकृत अल्पसंख्यक  दरै/दराई  समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ ।  लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा  सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ ।  

उपन्यासकार बिडारीले  भने, ‘करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवन शैलीसम्मका विषय उपन्यासमा समेटेको छु ।’ 


व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताइन् । नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको बताए ।  

दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले उपन्यास ‘फेरिल’ ले समुदायमा लुकेर रहेका विषयलाई समेटिएको बताए । उनले भने, ‘दरै समुदायको भाषा, संस्कार, संस्कृति, रहनसहन र बसाइँसराइका विषय उपन्यासले उजागर गरेको छ । यसले समुदायलाई सचेत गराउनेछ ।’