प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद



धुलिखेल ।  बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित प्रहरी जाँचको क्रममा आवश्यक बिलविजक तथा कागजात नभएका खाद्य सामग्री बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार महेन्द्रनगर धनुषाबाट काठमाडौँ आउँदै गरेको मधेस प्रदेश ०२–००१ ख ०२१८ नम्बरको ट्रकसहित सामग्री बरामद गरिएको हो । 


जाँचको क्रममा ब्यञ्जन बास्मती चामल २० किलोको पाँच बोरा, अन्नपूर्ण चामल २५ किलोको ४० बोरा, दाल ३० किलोको १८ बोरा र २५ किलोको सात बोरा, केराउ ३० किलाको पाँच बोरा र चिनी ५० किलोको एक सय ५० बोरा रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

बरामद गरिएको खाद्यान्नसहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।