प्रधानमन्त्री ओलीद्वारा ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन



काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू)मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका छन् ।

विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गरे । उनी सोही कार चढेर दीक्षान्त समारोहस्थल गएका थिए।


सोअवसरमा उनले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताए । “काठमाडौँ विश्वविद्यालयमा मात्र होइन, यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्छ”, कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफू यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल एवं अध्ययनको सुरुआत गरेको स्मरण गरे । उनले भने, “अहिले राम्रो कामको सुरुआत भएको छ, यसलाई अन्यत्र बिस्तार गर्दै जानुपर्छ, विशेषगरी पहिलो प्राथमिकता सवारी साधनलाई दिनुपर्छ ।”

विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिए । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।

विश्वविद्यालयलाई हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट सवारी साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको थियो । निगमकै सहयोगमा गत कात्तिकमा दक्षिण कोरियाबाट हुण्डाइ कम्पनीको कार भित्र्याइएको थियो । साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको जनाइएको छ ।

यसका लागि निगमले विश्वविद्यालयलाई पाँच करोड उपलब्ध गराएको थियो । उक्त सहयोगबाट विश्वविद्यालयले ३३ हजार अमेरिकी डलरमा कार, एक करोड ३० लाखको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ ।

सहप्राध्यापक थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरमा प्रशोधित पानीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई सुक्खा बनाउन, शुद्धीकरण गर्ने र लो प्रेसर ट्याङ्कीमा भण्डार गर्ने र त्यासमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्कीमार्फत कारमा रिफिल गरिन्छ ।

अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन हुने विश्वविद्यालयले जनाएको छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खपत हुन्छ ।

विश्वविद्यालयमा ल्याइएको हुण्डाइको कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र पूर्ण क्षमतामा छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने जनाइएको छ ।

विश्वविद्यालयले ३० देखि ३५ वटासम्म हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्यसमेत राखेको छ । यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको जनाइएको छ ।