प्रदेश परामर्श समितिको बैठकमा प्रचण्डको ब्रिफिङः ‘पार्टी फुटको हल्ला खारेज भइसक्यो’



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) देखि सुरु भएको प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, अध्यक्ष प्रचण्डले यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् । साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि सुरु भएको बागमती प्रदेशको बैठक भोलिसम्म चल्ने छ ।


उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा १४ पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका थिए । जसमा प्रचण्डले संरक्षकको भूमिकामा बस्नुपर्ने, हाल पदाधिकारीको भूमिकामा रहेकाहरु सल्लाहकार भएर बस्नुपर्ने र संगठनको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव थियो ।

स्थायी कमिटीमा पेश भएको उपमहासचिव शर्माको उक्त प्रस्तावमा लामो छलफल भएका थियो । उपमहासचिव शर्माले नेतृत्वको वरिपरीबाटै पार्टी फुटाउँदै छ भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए ।