पोलियो खोपका लागि ‘तत्काल’ गाजा युद्धविराम गर्न ईयूको आग्रह



ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले गाजा पट्टीमा सबै बालबालिकालाई पोलियो खोप दिन अनुमति दिन ‘तत्काल’ मानवीय विश्रामको आह्वान गरेको छ । गाजा पट्टीमा गत महिना २५ वर्षमा यस रोगको पहिलो मामिला रेकर्ड गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बाल कोषले आगामी साताहरूमा सम्पूर्ण क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका छन् । यसमा छ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरसविरुद्ध मौखिक खोप उपलब्ध गराइने छ ।


“यी अत्यावश्यक अभियानहरूलाई सफल र समयमै कार्यान्वयन गर्न अनुमति दिन सबै पक्षको मानवीय विश्रामप्रति प्रतिबद्धता महत्त्वपूर्ण हुनेछ”, इयुका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले २७ सदस्यीय मुलुकहरूको ब्लकका तर्फबाट विज्ञप्तिमा भने, “दश महिनाभन्दा धेरैको लडाइँ र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र खराब सरसफाइको अवस्थाका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यामा फैलिएको महामारीबाट बच्न आवश्यक छ ।”

राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख प्यालेस्टिनीमध्ये अधिकांश (यसमा करिब आधा बालबालिका छन्) विस्थापित भएका छन् र बढ्दो साना क्षेत्रहरूमा भरिएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । गाजामा स्थिर पानी, फोहरको थुप्रो, गर्मीको उच्च तापक्रम र भीडभाडले महामारीका लागि प्रजनन स्थल बनाएको छ ।