पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने



लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । 


नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताए। 

प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छ भने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

लिस्बनस्थित भिक्टोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश  गुरुङले बताए। प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उनले बताए।