पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा



काठमाडौँ । नेपालकी  पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । फ्रान्सको पेरिसमा केहीबेर अघि सम्पन्न खेलमा उनले भेनेजुएलाकी भलेरिया मोरालेसलाई पराजित गरेकी हुन् ।

पलेशाले भेनेजुएलाकी मोरालेसलाई ३१–० अङकले पराजित गरिन् । उनी पहिलो चरणमा  के–४४ विधाअन्तर्गत महिला ५७ किलो मुनिको तौलमा विजयी भएकी हुन् ।


पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन् । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् । गत वर्ष चीनको हाङजाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पलेशाले कास्य पदक प्राप्त गरेकी थिइन् ।

यसअघि बिहीबार सम्पन्न खेलमा नेपालका भरतसिंह महता तेक्वान्दोको के–४४ विधाको पुरुष ५८ किलो मुनिको तौलमा जापानका मित्सुया  तानाकासँग १९–३ अङ्कले पराजित भएका थिए । उनी ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए ।