पूर्वमन्त्री डा महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ



काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गरेका छन् ।  अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित  यस  अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उनले धारणा व्यक्त गरे । 

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उनले भने, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरूलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”


उनले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिए । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधी गरेको थिएँ”, उनले भने, “विदेशमा बस्नेहरूले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कँडेल तेस्रो भए । उनीहरूलाई प्रमुख अतिथि डा. महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका छन् ।