‘पुस्तकालयको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ’



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टाराईले सङ्घीय सरकार पुस्तकालयको विकास र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ मनाइएको १७ औँ पुस्तकालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकालयको विकासका लागि आवश्यक कानुन, नीतिनियम निर्माणको चरणमा मन्त्रालय रहेको जानकारी दिइन् ।

हिजो समुदायको आवश्यकताका आधारमा पुस्तकालय खुलेका बताउँदै संविधान निर्माणपछि मौलिक अधिकारका रुपमा पुस्तकालय रहेका मन्त्री भट्टराईले उल्लेख गरिन् । उनले भने, “पुस्तकालयको संरक्षण, प्रवर्द्धन र पठनसंस्कृतिको विकासका लागि राज्यले दायित्व लिनुपर्छ ।”


पुस्तकालयको विकासका लागि ऐन, नीति, नियम आवश्यक पर्ने बताउँदै मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले २०६४ को पुस्तक नीतिलाई परिमार्जन गर्न प्रारम्भिक मस्यौदा तयार पारिसकेको जानकारी दिइन् । अहिले पुस्तकालय पुस्तकमा मात्रै सीमित नरहेको स्मरण गराउँदै उनले विद्युतीय पुस्तकालयको विकास गरी विश्वस्तरको पुस्तक अध्ययन गर्ने वातावारण निर्माण गर्न जरुरी रहेको औँल्याइन् ।

कानुन र नीतिगत व्यवस्थापन भएपछि पुस्तकालयको स्रोत व्यवस्थापन गर्न सहज हुने मन्त्री भट्टराईले धारणा राखिन् । उनले यसका लागि पुस्तकालयका क्षेत्रमा काम गर्ने सबैको साथ, सहयोग र सुझाव आवश्यक पर्ने भन्दै आपसी सहकार्य र समन्वय गर्न सरोकार भएकालाई आग्रह गरिन् । 

१७ औँ पुस्तकालय दिवस मूल समारोह समितिका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले पुस्तकालय ज्ञानको स्रोत भएको उल्लेख गर्दै पुस्तकालयलाई समय सापेक्ष विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।

“पुस्तकालयमा कुनै एक व्यक्ति भित्रिसकेपछि एकजना पाठकले अन्यलाई पनि डोर्याउन सक्नुपर्छ, हामीले त्यस्तो किसिमको नमूना पुस्तकालयको विकास गर्न जरुरी छ”, सचिव पुडासैनीले भने । नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालयको साँच्चै विकास गर्ने हो भने पुस्तकालय ऐन ल्याउन जरुरी रहेको बताए ।

समारोहमा मीना डल्लाकोटीलाई उत्कृष्ट पुस्तकालयकर्मी घोषणा गर्दै सम्मान गरिएको थियो । त्यस्तै पुस्तकालय अभियन्ता मीना थापा गिरीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । पर्वतको खानी गाउँमा २०१६ सालमा स्थापना भएको ‘मोती सामुदायिक पुस्तकालय’ फलेवासलाई मुलुकभरका सामुदायिक र निजी पुस्तकालयमध्येबाट उत्कृष्ट घोषणा गरिएको थियो । 

बानेश्वरस्थित रत्न पुस्तकालयले ‘लक्ष्मीप्रसाद देवकोटा स्मृति’ सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानको राशि रु ५० हजार नगद रहेको छ । समारोहमा शिक्षामन्त्री भट्टराईले उक्त सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।