पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धिकरण अभियान चलाउनुपर्छः अध्यक्ष प्रचण्ड



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन्।

पार्टी कार्यालय पेरिसडाडाँमा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानीक विषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सोपकोटाले जानकारी दिए।


बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढिकरण गर्नुपर्ने धारणा राखे। त्यस्तै प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए।

कम्युनिष्ट वामपन्थीहरुलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरुसँग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिटै परिणाम निस्कने समेत धारणा राखेको सापकोटाले जानकारी दिए। बैठकमा प्रचण्डका साथै उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत १३ जना सदस्यहरुले धारणा राखेको उनले बताए।

बैठक आइतबार पुनः बस्ने सापकोटाले जानकारी दिए। जनपरिचालन, संगठन निर्माण र विस्तार लगायतका एजेण्डमा केन्द्रीत माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।