पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित



तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिराले क्षति पुर्‍याएको छ । मङ्गलबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण व्यास नगरपालिका–१३ निउरोघारी नजिक पहिरो गई खानेपानी मुहानको पाइप लाइनमा क्षति पुगेको हो ।

खानेपानी मुहानको ‘मेनलाइन’ को जिआइ पाइपलाइन पहिराले क्षति पुगेपछि पानी आपूर्ति बन्द भएको उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । पाइप लाइन मर्मत गर्न समय लाग्ने भएकाले पानी वितरणमा समस्या आउने उनले बताए ।


यसअघि पनि असारको अन्तिम साताको पहिराले खानेपानी पाइपमा क्षति पुगेको थियो । उक्त खानेपानी संस्थाले त्यस वडाका दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ ।

उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ ।

समितिले नगर विकास कोषको सहयोगमा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । संस्थाले नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण लगानीका लागि सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाई क्षेत्र सहलगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम रु १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम रु तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम रु ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट बेहोरिने अध्यक्ष दरैले जानकारी दिए ।