परिवर्तनको नेताका रूपमा मलाई संसारले स्वीकारेको छ, समय आएपछि फरक जिम्मेवारीमा जान्छुः प्रचण्ड



सुर्खेत । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नेतृत्व हस्तान्त्रण गर्ने बेला नभएको बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीका बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भएपनि अहिले नै हस्तान्तरण गर्ने समय नभएको बताएका हुन् ।


उनले समय आएपछि आफू पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा रहेको बताए । अध्यक्ष प्रचण्डले माओवादी पार्टी फुट्छ भनेर भ्रम फैलाइयो र पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको बताए ।

उनले भने, ‘अहिलेको समयमा नेतृत्व हस्तान्तरण गर्न समय भएको छैन भन्ने मेरो भनाइ छ । तथापी म ७० वर्ष कट्दैछु । अब त मलाई अध्यक्ष पद ठूलो लाग्दैन । नेपालको परिवर्तनको ठूलो नेता भनेर दुनियाँले स्वीकार गरेको छ । समय आएपछि म आफै पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा छु ।’

अध्यक्ष प्रचण्डले मुलुकको राजनीति थप चुनौतीपूर्ण बन्दै गएको भन्दै पार्टीलाई मजबुत बनाउने बताए । उनले भने, ‘सरकार गठन गर्न ठूल ठूला पाटी मिल्ने दुनियाँमा हुँदैन । संसदीय परम्परा मान्नेहरूका लागि त यो अपवाद हो । यो सरकारले सय दिनभित्र थुप्रै गलत काम गर्ने सम्भावना भएकाले मैले कडारुपमा प्रतिवाद गर्नु परेको हो । भ्रष्टाचारीलाई बचाउने कोसिस गरियो भने सदन र सडकमा हामी सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।’

उनले माओवादी केन्द्र र सशस्त्र द्वन्द्वका विषयमा अन्य पार्टीका नेताहरूले अपमान हुनेगरी बोल्दा कसैको हित नहुने बताए ।